इतिहास बुद्ध जन्मस्थलबारे १२५ बर्ष अघि छापिएको एउटा खबर यस्तो छः सन् १८९६ डिसेम्बर १ मा ब्रिटिस भारतका आर्केलोजिकल सर्भेयर डा. एलियस एन्टोन ...
इतिहास
बुद्ध जन्मस्थलबारे १२५ बर्ष अघि छापिएको एउटा खबर यस्तो छः
सन् १८९६ डिसेम्बर १ मा ब्रिटिस भारतका आर्केलोजिकल सर्भेयर डा. एलियस एन्टोन फुहरर र उनका साथमा रहेका पाल्पाका बडाहाकिम खड्ग शमशेरले अशोक स्तम्भमा खिपिएका ब्राह्मी अक्षरका आधारमा गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको पत्ता लगाएपछि छापिएको खबर हो यो।
जर्मन नागरिक फुहररको यो अनुसन्धानबाट क्रुद्ध ब्रिटिस पक्षले उनलाई जागिरबाट निष्कासित गर्ने धम्की दिएपछि उनले राजिनामा दिएका थिए। उनको अनुसन्धान प्रतिवेदनमा समेत ब्रिटिसले रोक लगाएका थिए। सन् १८९६ को १२ मे र २९ जुनमा फुहररले ब्रिटिस भारतको उत्तर–पस्चिमी राज्य अवधबाट ब्रिटिस भारत सरकारको वैदेशिक विभागमा पत्र लेख्दै उनले उत्खननका लागि नेपाल सरकारसंग सहजीकरण गरिदिन अनुरोध गरेका थिए। नेपाल स्थित ब्रिटिस रेजिडेन्ट वाईलीले नेपाल सरकार संग आवश्यक प्रक्रिया अगाडी बढाएका थिए। तत्कालीन प्रधानमन्त्री वीर शमशेर जबराले आफ्ना भाई पाल्पा जिल्लाका बडाहाकिम खड्ग शमशेर जबरालाई त्यहाँ खटाएका थिए। यसरी गौतम बुद्धको जन्मस्थल लुम्बिनी भएको तथ्य पत्ता लगाएर त्यसलाई संसार सामु प्रमाणित गर्नमा डा. फुहरर र खड्ग शमशेरको ठूलो योगदान छ। फुहररको अन्वेषणको केही बर्ष पछि ब्रिटिस भारतका आर्केलोजिकल सर्भेयर पूर्ण चन्द्र मुखर्जीले समेत अन्वेषण गरेका थिए।
सन् १८५६ मा राधाकृष्ण सिकदरले संसारको सबैभन्दा अग्लो हिमालका रुपमा सगरमाथाको उचाई कायम गरेको ४० बर्ष पछि सन् १८९६ मा डा. फुहररले गौतम बुद्धको जन्मस्थलका रुपमा नेपालको लुम्बिनी पत्ता लगाएपछि नेपालले सबैभन्दा अग्लो हिमाल (सगरमाथा) को देश र गौतम बुद्धको जन्म भएको देशका रुपमा पनि प्रसिद्धि पाएको हो।
सन् १९३२ को शुरूवात तिर राणा प्रधानमन्त्री भीम शमशेर जबराको पालामा नेपाल सरकारले आधिकारिक रुपमा बजेट नै छुट्याएर लुम्बिनीको विकास र अन्वेषणका लागि अर्को पहलकदमी लिएको हो। त्यतिबेला नेपाल सरकारले २० हजार रुपैयाँको बजेट समेत छुट्याएको बिषयलाई त्यतिबेलाका अन्तर्राष्ट्रिय संचारमाध्यमले समेत निकै प्राथमिकताका साथ प्रसारण गरेका थिए। तर सन् १९२० को दशकमा त्यहाँ नेपालले मायादेवी मन्दिरको पुनर्निर्माण देखि एउटा धर्मशाला सम्मको निर्माण भने गरिसकेको थियो। पछि जुद्ध शमशेरको पालामा समेत नेपाल सरकारका तर्फबाट लुम्बिनीको थप अन्वेषण र विकासका लागि जनरल केशर शमशेर जबरा समेत खटिएका थिए।
सबैलाई बुद्ध जयन्तीको शुभकामना।
COMMENTS